FAQs Complain Problems

भर्खरै

जग्गा बाँझो नराख्ने किसानलाई तुलसीपुरले पुरस्कृत गर्ने

जग्गा बाँझो नराख्ने किसानलाई तुलसीपुरले पुरस्कृत गर्ने

दाङको तुलसीपुर उपमहानगरपालिकाले वर्षैभरी जग्गा बाँझो नराख्ने किसानको पहिचान गरी पुरस्कृत गर्ने भएको छ।

असार १० गते प्रस्तुत बजेटमा त्यसको अनुगमन गर्न ५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ।

सुख्खा मौसममा मोटरबाट पानी तानेर सिँचाइ गर्ने किसानलाई विद्युत महशुलमा शतप्रतिशत अनुदान दिन ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै, कृषि लक्षित बजेटमा बगर खेतीलाई प्रोत्साहित गर्नका लागि ३ लाख रुपैयाँ व्यवस्था गरिएको छ।

विपन्न तथा सुकुम्वासीले जग्गा भाडामा लिएर व्यवसायिक खेती गर्न चाहेमा तोकिएको रकममा ५० प्रतिशत अनुदान उपलब्ध गराउन ५ लाख रुपैयाँ बजेट छुटयाइएको छ।

त्यस्तै, माटो परीक्षण, बाली तथा पशुमा लाग्ने रोगको उपचार गर्न १५ लाख रुपैयाँ छुट्याइएको छ।

जग्गाको चक्लाबन्दी तथा गह्रा सुधारका निम्ति अनुदान दिन ५ लाख रुपैयाँ, बिउ तथा बेर्ना उत्पादन र वितरणका लागि ५ लाख रुपैयाँ, बाह्रै महिना खेती गर्नका लागि सिँचाइ प्रविधि जडान गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

कृषि तथा पशुपालनका लागि यान्त्रिक साधन उपलब्ध गराउन, प्लाष्टिक पोखरी निर्माण, कृषि उपज ढुवानी, प्याकेजिङ र ग्रेडिङ गर्न १० लाख रुपैयाँ छुट्याइएको छ।

तुलसीपुरमा खादा विस्थापित गर्न र फूलको माला प्रयोगमा ल्याउन फूल खेतीमा उपमहानगरपालिकाले अनुदान दिने भएको छ।

फूलखेती गर्ने कुनै पनि व्यक्ति वा समूहलाई ५ लाख रुपैयाँ विनियोजन गरेको छ।

त्यस्तै, उपमहानगरपालिकाले पशु चौपायाका लागि पनि विभिन्न शिर्षकमा बजेटको व्यवस्था गरेको छ।

किसानसँग पशु वैज्ञानिक भेट कार्यक्रम अन्तर्गत २ लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ।

विनियोजित बजेटमा पशुचौपाया लाग्ने रोग नियन्त्रण गर्न, कृत्रिम गर्भाधारणलाई प्रोत्साहित गरी नश्ल सुधार गर्न ३ लाख रुपैयाँ, पशु स्वास्थ्य औषधालय र पशु एम्बुलेन्स सञ्चालनका लागि २५ लाख रुपैयाँ, वधशाला, चिस्यान केन्द्र स्थापना सहकार्य गर्नका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, घाँस खेती विस्तार, किम्बु तथा रेशम खेतीका लागि ५ लाख रुपैयाँ,चौपाया, पशुपंक्षीको संख्या अद्यावद्यिक तथा ट्यागिङका लागि ५ लाख रुपैयाँ,कृषि तथा पशु बजार विकास,कृषि तथा पशु मेला र प्रदर्शनी आयोजनाका लागि ५ लाख रुपैयाँ र छाडा चौपाया नियन्त्रण र व्यवस्थापनका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा कृषिको समग्र विकासका लागि मेयर कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

त्यस्तै, रसायनिक मलको प्रयोग कम गर्न प्राङ्गारिक कृषि कार्यक्रम गरिने भएको छ।

यस्तो कार्यक्रम सञ्चालनका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

कृषि क्षेत्रको विकास भयो भने मात्रै आत्मनिर्भर हुन सकिने भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए।