FAQs Complain Problems

भर्खरै

तुलसीपुरले सुरु गर्‍यो छाडा गाई व्यवस्थापन

तुलसीपुरले सुरु गर्‍यो छाडा गाई व्यवस्थापन

तुलसीपुर उपमहानगरपालिकाले छाडा गाईको व्यवस्थापनको काम सुरु गरेको छ । विभिन्न स्थानीय तहका लागि जटिल वन्दै गएको छाडा गाई व्यवस्थापन गर्न तुलसीपुरमा गौ संरक्षण समिति स्थापना गरिएको हो । छाडा गाई व्यवस्थापनको प्रयास स्वरुप उपमहानगरपालिकाले पहिलो चरणमा १ सय २५ वटा गाई तुलसी गौ संरक्षण सहकारी संस्थालाई हस्तान्तरण गरेको हो । गौशालाका अध्यक्ष मोहन भण्डारीले गाई वुझेका थिए । गाईलाई व्यवस्थापन गरेर त्यसलाई उद्यमशिलतासँग जोड्ने गरी सहकारीले काम अगाडि वढाएको हो ।
अध्यक्ष भण्डारीले फुलवारीमा रहेको गौशाला निर्माणको काम भइरहेकोले अहिले गौलौरामा रहेको गौशालामा व्यवस्थापन गरिएको वताए । गौशाला निर्माणसँगै त्यसलाई कसरी व्यवसायिक वनाउने भन्ने वारेमा पनि तयारी भइरहेको उनको भनाई थियो । ‘लक्ष्मी पुजाको दिन सबै गाईहरुको व्यवस्थापन गर्ने गरी काम भइरहेको छ । ’ अध्यक्ष भण्डारीले भने ।

यसैविच गाई हस्तान्तरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले गाई व्यवस्थापन सुरु भएकोमा खुसी व्यक्त गरे । उनले सहकारी र उद्यमसँग जोडेर छाडा चौपाया नियन्त्रणका लागि पहल गरिने वताए । कुनै एक स्थानीय तहले मात्रै काम गरेर छाडा गाई नियन्त्रण हुन नसक्ने वताउँदै सबै स्थानीय तहले यसबारेमा गम्भिरतापूर्वक काम अगाडि वढाउन आवश्यक रहेको कुरामा जोड दिए । ‘हरेक स्थानीय तहले गाईहरुलाई ट्यागिङ्ग गर्नुपर्दछ । अनि मात्रै यसको नियन्त्रण सम्भव हुन्छ ’ पाण्डेको भनाई थियो । उनले जथाभावि गाई छाड्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक रहेको समेत वताए । ।