FAQs Complain Problems

भर्खरै

पातुखोलाको अटोभिलेजका लागि दुई करोड बजेट बिनियोजन

दाङ तुलसीपुरमा नयाँ स्थानमा निर्माण भएको अटो भिलेजका लागि करिब दुई करोड बजेट छुट्याएको छ ।

तुलसीपुर ६ र ९ नं. वडाको बीचमा पर्ने पातुखोलामा निर्माण भएको उक्त अटोभिलेजलाई सुरक्षित राख्नका लागि केन्द्रीय सरकारको ४० प्रतिशत समपूरक अनुदान र प्रदेश सरकारको ६० प्रतिशत राजश्व तथा अनुदानबाट उक्त बजेट छुट्याईएको हो ।

अटोभिलेज संरक्षण गर्न तीनसय १७ मिटर लम्बाई भएको आरसिसी तटबन्ध निर्माणका लागि एक करोड ९० लाख बजेट आएको जलस्रोत तथा सिंंचाई विकास डिभिजन कार्यालय दाङका प्रमुख गणेश मरासिनीले जानकारी दिए ।

उनका अनुसार पातुखोलाको वडा नं. ६ तर्फ पर्ने किनारमा तटबन्ध निर्माण हुनेछ । उक्त तटबन्ध निर्माणकाको काम चालुआर्थिक बर्ष भित्र सकिने र त्यसका लागि आईतबार टेण्डर समेत आह्वान भईसकेको उनको भनाई छ ।

यस अघि तुलसीपुर उपमहानगरपालिका र ब्यबसायीको करिब डेढ करोड लागनीमा वडा नं. ९ तर्फ तटबन्ध गर्ने काम भईरहेको अटोभिलेज ब्यबस्थापन समितिका उपाध्यक्ष पदमप्रसाद पोख्रेलले बताए । पातुखोलाको किनारमा अटोभिलेज निर्माण भएकाले बर्षादमा बाढी बस्ने डर रहेको भन्दै त्यसका लागि आफुहरुको पहलमा दुबैतर्फ तटबन्ध निर्माणको काभ भईरहेको उनले बताए । ‘ पातुखोलाको किनारमा हामी अटो ब्यबसायीहरु बसेका छौं ’ उनले भने ‘ तटबन्ध निर्माण नभए बर्षादमा अटोभिलेज बगाउने डर थियो, तर अब दुबै तर्फ तटबन्ध निर्माण हुनेभएपछि भने ढुक्क भएका छौं ।’

तुलसीपुर बसपार्कमा बस्दै आएका अटोब्यबसायीहरुलाई खालि रहेको पातुखोलाको जग्गालाई ब्यबस्थापन गरि त्यहाँ सारिएको छ । तुलसीपुर बसपार्कलाई आधुनिक बनाउनका लागि त्यहाँबाट ब्यबसायीलाई भर्खरै मात्रै त्यहाँ सारिएको हो । अहिले करिब डेढसय अटोब्यबसायीहरु त्यहाँ बस्दै आएका छन् । ब्यबसायी तथा उपमहानगरपालिकाको गरि करिब ८ करोडको लागतमा अटोभिलेज निर्माण भएको हो । 
पुल आबश्यक
पातुखोलाको दुबैतर्फको किनारामा अटोभिलेज निर्माण भएकाले ब्यबसायी तथा सेवाग्राहीलाई वारपार गर्नका लागि पुल निर्माण आबश्यक रहेको उपाध्यक्ष पोख्रेलले बताए । उनका अनुसार त्यसका लागि स्थानीय,प्रदेश तथा केन्द्रीय सरकारलाई आफुले ध्यानाकर्षण गराएको समेत बताए ।साथै उपमहानगरपालिकाबाट समेत त्यसका लागि पहल भईरहेको उनले बताए । पुल निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकाले केन्द्र सरकारसंग २५ करोड बजेट माग गरेको समेत जानकारी दिए ।