FAQs Complain Problems

भर्खरै

बैशाख अन्तिमबाट तुलसीपुर बसपार्क सञ्चालनमा आउने

बैशाख अन्तिमबाट तुलसीपुर बसपार्क सञ्चालनमा आउने
बैशाख अन्तिमबाट तुलसीपुर बसपार्क सञ्चालनमा आउने

तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक बसपार्क बैशाख अन्तिम साताबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । नगर विकास कोषको ऋण सहयोगमा करिव ९ करोडमा निर्माण गरिएको बसपार्कको सम्पूर्ण पूर्वाधार तयार भएर सञ्चालनमा आउन लागेको निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सनका विजय बोगटीले जानकारी दिए । उनले भवनको रङ लगाउने र मार्वल बिछ्याउने काम बाँकी रहेकाले तिव्रताका साथमा काम भइरहेको बताए ।

२०७४ वैशाखमा ठेक्का भएको बसपार्क निर्माणका लागि जग्गाको विवाद भएपछि निर्माण अवरुद्ध भएको थियो । जनप्रतिनिधिहरु आएपछि समस्या समाधानसँगै निर्माणको काम निकै तिव्र रुपमा अगाडि बढेको इन्जिनियर पवन योगीले जानकारी दिए । नगरप्रमुख घनश्याम पाण्डेले चुनावी एजेण्डाका रुपमा लिएको बसपार्क निर्माणमा आफु सफल भएको बताए । “तुलसीपुर बिस्तारै व्यवस्थित हुँदै जानेछ” नगरप्रमुख पाण्डेले बताए । निरिक्षणका क्रममा उनले ठेकेदारलाई निर्माणमा ढिलाइ नगर्न आग्रह समेत गरेका छन् ।

तुुलसीपुरलाई व्यवस्थित वनाउनका लागि निर्माण गरिएको बसपार्क साढे ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । वसपार्कमा करिव ३ सय गाडी अटाउने क्षमता रहेको पनि इन्जिनियर योगीले जानकारी दिए । आधुनिक यात्रु प्रतिक्षालयसँगै, भवन, शौचालय, पार्क र सडक निर्माण गरिएको उनले जानकारी दिए । बसपार्कभित्र ५२ वटा व्यवसायिक टहराका साथै टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका रहेन बताईको छ । बसपार्कमा स्तनपान कक्षका साथै सेन्सरयुक्त ढोका समेत राखिने बताइएको छ । आवश्यक क्षेत्रफल बढाउनका लािग उपमहानगरपालिकाले नमुना अटो भिलेज समेत निर्माण गरेको छ । निर्माणको लागि असारसम्म म्याद भएपनि वैशाख अन्तिम साता निर्माण सम्पन्न गरेर हन्तान्तरण गरिने निर्माण कम्पनीले बताएको छ ।

आधुनिक वसपार्क सञ्चालन हुने कुराले यातायात व्यवसायीहरुमा उत्साह पलाएको छ । “हाम्रा गाडी अव सुरक्षित हुने भए” राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले बताए । उनले गाडी जथाभावि राख्नुपर्ने बाध्यताको अन्त्य हुने समेत बताए ।