FAQs Complain Problems

भर्खरै

तुलसीपुरका मेयर ताइवान पुगेर भने विकासमा साझेदारी गरौ

तुलसीपुरका मेयर ताइवान पुगेर भने विकासमा साझेदारी गरौ

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विभिन्न देशका मेयरहरुलाई विकासमा साझेदारी गर्न आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरमा विभिन्न विकासका सम्भावना भएकाले त्यसलाई आधुनिक शहरको स्वरुप दिनका लागि सवैले साथ दिनुपर्ने वताएका छन् । ताइवानको ताइपेइ शहरमा आयोजना गरिएको स्मार्ट सिटी सम्बन्धी सम्मेलनका मन्तव्य राख्दै नगरप्रमुख पाण्डेले स्मार्ट सिटीका रुपमा तुलसीपुरलाई विकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको पनि उल्लेख गरे ।

उनले स्मार्ट सिटीका रुपमा विकास भइसकेका शहरहरुसँग भगिनी सम्वन्ध राख्नका लागि तुलसीपुर उपमहानगरपालिकाले पहल गरिरहेको समेत वताएका थिए । प्राकृतिक रुपले सम्पन्न हुनुका साथै भौगोलिक रुपमा समेत धेरै सम्भावना भएको ठाउँ भएको वताउँदै उनले मेयरहरुलाई तुलसीपुरका वारेमा जानकारी समेत गराएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।

विश्वभरमा रहेका ५३ देशबाट १ सय ५० वढि मेयरहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । स्मार्ट सिटीका रुपमा विकसित भइसकेको ताइपेइ नगरको आयोजनामा भएको कार्यक्रम ३ दिन सम्म चल्नेछ । कार्यक्रममा स्मार्ट सिटीको अवधारणका साथै नयाँ शहरहरुलाई कसरी स्मार्ट सिटी वनाउन सकिन्छ भन्ने विषयमा छलफल र अन्तक्र्रिया हुनेछ ।

सम्मेलनमा तुलसीपुर उपमहानगरपालिकाबाट मेयर पाण्डेसँगै वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने, वडा नम्वर ७ का अध्यक्ष टोपवहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत र तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यको सहभागिता रहेको छ ।  यसैगरि तुलसीपुर उपमहानगरपालिकामा लगानीको भित्र्याउनका लागि वुधवार एनआरएन जापानका अध्यक्ष भुवन भट्टसँग नगरप्रमुख पाण्डेले भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।