FAQs Complain Problems

भर्खरै

लुहाडवरामा स्मार्ट कृषि कार्यक्रम सुरु

तुलसीपुर,चैत्र १४ । भुमी, सहकारी तथा कृषि मन्त्री आरती पौडेलले स्मार्ट कृषि मार्फत किसानहरुलाई विज्ञ वताउने वताएकी छिन् । प्रदेश सरकारले किसानहरुका लागि खुला विश्वविद्यालयका रुपमा स्मार्ट कृषि कार्यक्रम लागु गरेको वताउँदै मन्त्री पौडेलले प्रदेश नम्वर ५ का ५२ निर्वाचन क्षेत्रमा कार्यक्रम लागु भएको वताइन् । ‘अव कुनै पनि कृषि उपजमा समस्या परे किसानहरु कृषि विज्ञ कहाँ होइन कृषि विज्ञहरु किसान कहाँ आउछन्’ मन्त्री पौडेलले वताइन् । टुक्रे कृषि प्रणालीलाई निरुत्साहित गर्दै जग्गाको चक्लावन्दी गरेर सामुहिक कृषि प्रणालीलाई अगाडि वढाउनका लागि प्रदेश सरकारले योजना वनाएको समेत उनको कथन थियो ।

उनले कृषकको उत्पादन वढाउन मात्रै नभएर किसानका कृषि उपजहरुलाई उचित मुल्यमा किन्नका लागि प्रदेश सरकार तयार रहेको समेत वताईन् ‘हामीले किसानलाई हरेक तवरले सुविधा दिदैछौ’ उनले भनिन् । जग्गा वाँझो राख्नेलाई कारवाही गर्दै प्रदेश सरकारले किसानहरुलाई करार खेती तर्फ प्रेरित गरेको समेत उनको भनाई थियो । नक्कली कृषक वनेर अनुदान लिनेहरुलाई कारवाहीको दायरामा ल्याएको वताउँदै मन्त्री पौडेलले वास्तविक किसानलाई मात्रै अनुदान दिने गरी प्रदेश सरकारले योजना अगाडि वढाएको वताइन् ।

कार्यक्रममा वोल्दै प्रदेश नम्वर ५ लेखा समितिका सभापती डिल्लीवहादुर चौधरीले लुहाडवरालाई प्राथमिकतामा राखेर आफुले योजना पारेको वताए । ‘यो क्षेत्रमा तपाईहरुले केही नयाँ गर्नुहुन्छ भनेर योजना पारेको हुँ’ चौधरीले भने । ५० लाखको योजनाबाट कृषकहरुको जीवनस्तर वदलिने समेत उनले वताए । प्रदेश साँंसद दामा शर्माले जीवन निर्वाहमुखी कृषिलाई व्यावसायिकतामा वदल्नुपर्ने वताउँदै उन्नत विउँविजनको प्रयोग गर्न किसानहरुलाई सुझाइन् । कृषिमा व्यावसायिकताका लागि कम्तिमा तीन वाली लगाउनुपर्ने उनको भनाई थियो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले स्मार्ट शहर निर्माणको क्रममा स्मार्ट कृषिले इटा थप्ने वताए । स्मार्ट कृषि गाउँ घोषणाले कृषिमा क्रान्ती आउने समेत उनको भनाई थियो । ‘उत्पादनमा समस्या भए पनि भन्नुस् विक्रीमा समस्या भए पनि भन्नुस तर उत्पादनमा सधै अगाडि वढिरहनुहोस्’ नगरप्रमुख पाण्डेले भने ।

कृषि ज्ञान केन्द्रका कृष्ण वहादुर वस्नेतले चार वर्ष सम्म चल्ने कार्यक्रममा किसानहरुलाई आधुनिक प्रविधि मार्फत उत्पादन र वितरणमा उन्मुख गराइने वताए । उनले मोवाइल एप्लिकेसनका साथै प्रविधि मार्फत नै किसानहरुका समस्या समाधान गरिने पनि वताए । ‘अव किसान विज्ञ कहाँ दौडनु पर्दैन मोवाइल बाटै सबै समस्या समाधान हुन्छ’ वस्नेतले भने । सो अवसरमा मन्त्री पौडेलले सो क्षेत्रका किसानहरुले सञ्चालन गरेका विभिन्न कृषि फर्महरुको समेत अवलोकन गरेकी थिइन् ।