FAQs Complain Problems

भर्खरै

“मदिरामा वृद्धि गरिएको करको पैसाले स्वास्थ्य उपचार कोष” – नगरप्रमुख पाण्डे

“मदिरामा वृद्धि गरिएको करको पैसाले स्वास्थ्य उपचार कोष” – नगरप्रमुख पाण्डे

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले मदिरामा वृद्धि गरिएको करको पैसा स्वास्थ्य उपचार कोषमा लगाउने बताएका छन् । मदिरा सेवनले मानिसको स्वास्थ्य र समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई नियन्त्रण गर्नका लागि उपमहानगरपालिकाले करमा वृद्धि गरेको कुरामा नगरप्रमुखले जोड दिए । “कानुनले मदिरा विक्री वितरणलाई खुला गरेकाले करका माध्यमबाट यसलाई नियन्त्रण गर्नु परेको हो ” नगरप्रमुख पाण्डेले भने । उनले जनतालाई फाइदा पुग्ने दुधजन्य पदार्थमा कर घटाइएको समेत बताए । कर वृद्धिका वारेमा आएका विभिन्न गुनासाहरुलाई सम्बोधन गर्नका लागि आफु तयार रहेका बताउँदै नगरप्रमुख पाण्डेले जनतालाई फाइदा पुग्ने खालका कुराहरुमा उपमहानगरपालिकाले कर वृद्धि नगरेको बताए ।

“दैनिक २ या ३ जना क्यान्सरका विरामीहरु हामीकहाँँ सिफारिस माग्न आउँछन् यस्तो अवस्था नआओस् भन्नका लागि पनि हामीले कर वृद्धि गरेका हौ” नगरप्रमुख पाण्डेले भने । उनले साना व्यवसायीहरु मारमा परेकाले गर्दा व्यवसायिक करलाई वर्गिकरण गरेको बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि निर्धारण गरेको व्यवसाय करका बारेमा छलफल गरेको हो । उद्योग वाणिज्य संघको सभाहलमा भएको अन्तक्र्रिया कार्यक्रममा व्यवसायीहरुले व्यवसाय करका बारेमा पुनर्विचार गर्नका लागि उपमहानगरपालिकालाई आग्रह गरेका थिए । उपमहानगरपालिकाले नयाँ कर नीतिमा मदिरा र सुर्तिजन्य पदार्थका साथै इट्टा र ह्याचरी उद्योगमा बढि कर लगाएको उनीहरुको गुनासो रहेको थियो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले कर वृद्धिका बारेमा सोच विचार गर्नका लागि आग्रह गरे । उनले अन्य उपमहानगरपालिकाको तुलनामा तुलसीपुरले केही वस्तुमा अत्याधिक कर बढाएको गुनासो समेत पोखे । “व्यवसायीहरुले हामीलाई निकै दवाव दिएका छन् यसका वारेमा केही परिमार्जन गरिदिनु पर्यो” उनले भने । अर्का व्यवसायी विमल रिजालले करलाई समायानुकुल परिवर्तन गर्नुपर्ने बताउँदै एकाएक कर वृद्धिले व्यवसायीमा नकारात्मक प्रभाव पर्ने कुरामा जोड दिए ।

व्यवसायी एवम् तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार नारायण खनालले कर वृद्धि गरेर मदिरा नियन्त्रण नहुने बताउँदै नीति बनाउनुपर्ने कुरामा जोड दिए । “जस्तोसुकै पसलमा पनि मदिरा विक्री गरेको पाइएको छ बरु त्यस्तो कुरालाई नियन्त्रण गर्नमा ध्यान दिउँ” उनले भने ।

मदिरा व्यवसायी देववहादुर केसीले मदिरामा अचानक कर वृद्धि गरेकाले व्यापारीहरु मर्कामा परेको बताए । उनले मदिरा विक्री गर्ने सबै व्यवसायीहरुले व्यवसाय दर्ता नगरेको बताउँदै उनीहरुलाई दायरामा ल्याउनका लागि पहल गर्नुपर्ने कुरामा जोड दिए । “बजारमा व्यवसाय दर्ता गर्नेहरु निकै कम छन् सबैलाई दायरामा ल्याउनुहोस् सोचेको भन्दा पनि धेरै कर उठ्छ” केसीले सुझाव दिए । उनले सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

व्यवसायी सपना भण्डारीले मदिरा नियन्त्रणका लागि कर वृद्धि गरेर मात्रै मदिरा नियन्त्रण हुन नसक्ने बताउँदै कहाँ कहाँ मदिरा विक्री गर्न पाउने भन्ने बारेमा उपमहानगरपालिकाले स्थान निर्धारण गरेर समय समेत तोक्नुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठ, वरिष्ठ सदस्य यज्ञबहादुर केसी, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले विभिन्न सुझाव दिएका थिए । वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव रुपवहादुर खत्रीले गरेका थिए ।