FAQs Complain Problems

भर्खरै

आधुनिक बसपार्क निर्माणले तुलसीपुरवासी हर्षित

कुनै समय हिलाम्मे र धुलाम्मे हुने तुलसीपुर बसपार्कलाई आधुनिक बनाउने काम अन्तिम चरणमा पुगेपछि यहाँका नागरिक हर्षित भएका छन् ।

लामो संघर्षपछि आधुनिक बसपार्क निर्माण हुन थालेपछि यहाँका नागरिक तथा यात्रुहरुमा खुसी भएका हुन् ।

बसपार्कमा रहेका अटो ब्यबसायीहरुलाई तुलसीपुर ६ र ९ को किनारामा सारिएसंगै आधुनिक बसपार्क निर्माणको कामले तिब्रता पाएको छ ।

यात्रुहलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक बसपार्क निर्माणको कार्यलाई तीब्ररुपमा अगाडि बढाएको छ । तुलसीपुर क्षेत्रमा अहिलेसम्म आधुनिक बसपार्क निर्माण नभएकाले यातायात सञ्चालन कार्य निकै चुनौतीपूर्ण र जटिल हुँदै आएको थियो । “बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ’, तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले भने ‘ निर्माणको काम ९० प्रतिशत पूरा भएकाले वैशाखको अन्तिम सम्ममा बसपार्क सञ्चालनमा आउने छ ।

नगर विकास कोषको रु ९ करोड ऋण सहयोगमा विसं २०७४ वैशाखदेखि शुरु भएको सो बसपार्क निर्माणको जिम्मेवारी शिवशक्ति कन्स्ट्रक्सन प्रालिले पाएको छ । शुरुको करीब दुई महिनासम्म जग्गा विवादका कारण अवरुद्ध भएको निर्माण कार्य जनप्रतिनिधिहरुको पहलमा समाधान भएपछि निर्माण कार्यले तीब्रता पाएको इन्जिनियर योगीले जानकारी दिए ।

आवश्यक सबै संरचनाहरु निर्माण भएपनि अहिले रङ लगाउने, मार्वल विछ्याउने काम भैरहेको निर्माण कम्पनीका विजय वोगटीले जानकारी दिए । बसपार्क नजिकै रहेको अटोभिलेजलाई त्यहाँबाट तुलसीपुर नगरपालिका वडा नं ६ रजौरास्थित कमल पोखरी सामुदायिक वनको जग्गामा सारेपछि सो क्षेत्रमा बसपार्कको निर्माण थालिएको हो ।

झन्डै साढे ५ विगाहा क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक बसपार्कमा तीन सयभन्दा बढी सवारी साधनलाई व्यवस्थित रुपमा राख्न सकिने क्षमता छ । बसपार्कभित्र आधुनिक यात्रु प्रतिक्षालयसँगै भवन, शौचालय, पार्क र पक्की सडक निर्माण गरिएको पनि इन्जिनियर योगीले जानकारी दिए ।

उनका अनुसार वसपार्कभित्र ५२ ओटा व्यावसायिक टहराका साथै टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका संरचना पनि निर्माण गरिएको छ भने महिला तथा शिशुहरुका लागि स्तनपान कक्षको छुट्टै व्यवस्था गरिएको छ । यसअघिको बसपार्क सानो, फोहोर, दुर्घन्ध र धुलोयुक्त भएकाले यात्रुहरु सास्ती खेप्न बाध्य भएका थिए । यसका साथै रातको समयमा बसपार्क असुरक्षित हँुदै आएको पनि थियो ।

बसपार्क निर्माणको म्याद असार महिनासम्म भएपनि वैशाख अन्तिमसम्ममा हन्तान्तरण गर्ने तयारी भैरहेको निर्माण कम्पनीले जनाएको छ । आधुनिक बसपार्क निर्माणले आफूलाई निकै उत्साहित बनाएको तुलसीपुरका बस व्यवसायी प्रकाश भट्टले बताए । उहाँले भन्नुभयो– ‘भौतिक पूर्वाधार सहितको सुविधायुक्त बसपार्क नहुँदा आफूसहित यहाँका बस व्यावासायीले निकै सास्ती खेप्नुपरेको र बस लगायतका सवारी साधनहरु अन्यत्रै पार्किङ्ग गर्दा रातको समयमा असुरक्षा बढ्ने र यात्रुलाई पनि असजिलो हने गरेको थियो ।’

तुलसीपुर–काठमाडौँ बस चालकको काम गर्दै आउनुभएका भुपेन्द्र भण्डारीले पनि आधुनिक बसपार्क निर्माणले आफूलाई खुशी लागेको बताए । उनले टाढाको दूरीबाट गाडी चलाएर आउनुपर्ने, गाडी पार्किङ्गका लागि साहुको घर खोज्नुपर्ने वाध्यता रहेकोमा अब त्यस्तो समस्या हट्ने भएकोले खुशी लागेको बताए ।

राप्ती यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले आधुनिक वसपार्क सञ्चालनमा आएपछि जथाभावी रुपमा गाडी राख्नुपर्ने वाध्यता हट्ने र यसले शहर पनि व्यवस्थित र सफा हुने धारणा व्यक्त गरे । उनले भौतिक पूर्वाधारयुक्त बसपार्क नहुँदा घाम पानी तथा रातको समयमा यात्रुहरुले निकै सास्ती भोग्नुपर्ने पिडाको पनि अब अन्त्य हुने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जग्गाको विवादका कारण निर्माण सुरु हुन नसकेको आधुनिक वसपार्क निर्माणको कामलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकता राखेको बताए । उक्त बसपार्क निर्माणको कार्यलाई चुनावी एजेण्डा नै बनाउनुभएका उहाँले पनि आफू सफल भएको प्रतिक्रिया दिए । उनले भने–‘यसले नगरको सुन्दरता बढाएको छ र नागरिकलाई सुविधा प्रदान गर्ने तथा तुलसीपुर बजारलाई व्यवस्थित गर्न पनि सहयोग पु-याउने छ ।’