FAQs Complain Problems

भर्खरै

तुलसीपुर बजार तिहार अगाडि नै झिलीमिली

तुलसीपुर उपमहानगरपालिकाले तिहार अगाडि नै तुलसीपुर बजारलाई झिलीमिली पार्ने गरी काम अगाडि बढाएको छ । उज्यालो तुलसीपुर अभियान अन्तर्गत बजार क्षेत्रभित्र तिहार अगाडि नै सबै पोलमा बत्ति जडान गर्ने प्रक्रिया अगाडि बढाएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले बत्ति नभएको ठाउँमा नयाँ बत्ति जडान गर्नुका साथै पुराना सोलार बत्तिहरुको मर्मत प्रक्रिया अगाडि बढेको समेत बताए ।

उपमहानगरपालिकाले उत्तरमा रक्षाचौर, दक्षिणमा शितलपुर, पूर्वमा मज्गै र पश्चिममा भमकेसम्म सडक वत्ति जडानलाई अगाडि बढाएको कार्यपािलक सदस्य दिपक कुमालले जानकारी दिए । उपमहानगरपालिकामा जनप्रतिनिधि आउनुभन्दा अगाडि नै ठेक्का मार्फत जडान गरिएका सोलार बत्ति विग्रिएका कारण बजार क्षेत्र अन्धकार रहेको थियो । सोलार बत्तिको ग्यारेन्टी हुँदा पनि ठेकेदारले आनाकानी गरेका कारण मर्मत हुन सकेको थिएन । “तत्काल काम अगाडि बढाउने ठेकदारले प्रतिबद्धता जनाएको छ” नगरप्रमुख पाण्डेले सुनाए । उनले समयमै काम नभए कारवाही गरिने समेत चेतावनी दिए ।

पहिलो चरणमा सडक बत्ति जोड्ने काम अगाडि बढिसकेको खरिद शाखा प्रमुख टोपबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार वजार क्षेत्रमा वुधवारसम्म २५ वटा नयाँ सडक बत्ति जडान भइसकेका छन् । सबै क्षेत्रमा जडानका लागि काम अगाडि बढेको पनि उनले जानकारी दिए ।

यसैगरी विभिन्न ८ वटा टोलमा जोडएका ७८ वटा सडक बत्तिहरु अहिले पूर्णत नबल्ने अवस्थामा रहेका छन् । एभरेष्ट सोलार इनर्जी प्रालीले प्रति पोल ८९ हजारमा जडानको ठेक्का पाएका भएपनि कमसल सामग्रीको प्रयोग भएका कारणले गर्दा एक वर्ष नपुग्दै बिग्रिएका थिए । ठेक्का पाएको कम्पनीले लामो समयसम्म पनि आनाकानी गरेपछि नगरप्रमुख पाण्डेले तत्काल मर्मत नगरे कानुनी प्रक्रिया अगाडि बढाउने भएपछि काम अगाडी वढाएको थियो । ठेकेदार रोशन पुनले बिग्रिएका सामाग्रीहरु आइसकेको र विहिवारदेखि नै मर्मतको काम अगाडि बढेको जानकारी दिए । “नराम्रो सामान परेको हामीलाई पनि थाहा भएन त्यसलाई तत्काल मर्मत गर्छाै, तिहार अगाडि नै तुलसीपुर झिलिमिली हुनेछ” पुनले भने ।

उपमहानगरपालिकाले सबै टोलहरुमा वत्ति जडानका गर्नका लागि यो वर्ष उज्यालो तुलसीपुर अभियान अगाडि बढाएको छ । तुलसीपुरलाई सुरक्षित राख्नका लागि बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्न टेण्डर प्रक्रिया अगाडि बढिसकेको छ ।