FAQs Complain Problems

भर्खरै

व्यवसायिक कृषिमा तुलसीपुरको प्राथमिकता

व्यवसायिक कृषिमा तुलसीपुरको प्राथमिकता

कृषि क्षेत्रकाे विकासका लागि तुलसीपुर उपमहानगरपालिकाले २ करोड रकम विनियोजन गरेको छ । जग्गा बाँझो राख्नेहरुलाई कारवाही गर्नेदेखि डिपवोरिङ सञ्चालन सम्मको कार्यक्रम समेटिएको छ । कृषि क्षेत्रको विकास भयो भने मात्रै आत्मनिर्भर हुन सकिने भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको मेयर घनश्याम पाण्डेले बताउनुभयो ।

कृषि विकासको लागि मेयर कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि ५० लाख छुट्याइएको छ । रासायनिक मलको प्रयोग कम गर्न प्राङ्गारिक कृषि कार्यक्रम गरिने भएको छ ।

कार्यक्रम सञ्चालनका लागि ५ लाख विनियोजन गरिएको छ । बजेटमा वर्षैभरी जग्गा बाँझो नराख्ने किसानको पहिचान गरी पुरस्कृत गर्न र त्यसको अनुगमनका लागि ५ लाख वजेट छुट्याइएको छ ।

कृषि लक्षित बजेटमा बगर खेतिलाई प्रोत्साहित गर्नकालागि ३ लाख, किसानसँग पशु वैज्ञानिक भेट कार्यक्रमका लागि २, सुख्खा मौसममा मोटरबाट पानी तानेर सिँचाई गर्ने किसानलाई विद्युत महसुलमा शतप्रतिशत अनुदान दिनका लागि ५ लाख विनियोजन गरिएको छ ।

जग्गाको चक्लावन्दी तथा गह्रा सुधारका निम्ति अनुदान दिन रु ५ लाख, बीउ तथा बेर्ना उत्पादन र वितरणका लागि ५ लाख बाह्रै महिना खेती गर्नका लागि सिँचाई प्रविधि जडान गर्न १ करोड विनियोजन गरिएको छ ।

कृषि तथा पशुपालनका लागि यान्त्रिक साधन उपलब्ध गराउन, प्लाष्टिक पोखरी निर्माण, कृषि उपज ढुवानी, प्याकेजिङ र ग्रेडिङ गर्न १० लाख छुट्याइएको छ । विपन्न तथा सुकुम्वासीले जग्गा भाडामा लिई व्यावसायिक खेती गर्न चाहेमा तोकिएको रकममा ५० प्रतिशत अनुदान उपलब्ध गराउन ५ लाख, माटो परीक्षण, बाली तथा पशुमा लाग्ने रोगको उपचार गर्नका लागि १५ लाख छुट्याइएको छ । नगर क्षेत्रमा खादा बिस्थापन गरेर फुलको माला प्रयोगमा ल्याउन फुल खेतिमा उपमहानगरपालिकाले अनुदान दिने भएको छ । फूलखेती गर्ने कुनै पनि व्यक्ति वा समुहलाई ५ लाख विनियोजन गरिने भएको छ ।

उपमहानगरपालिकाले पशु चौपायाका लागि पनि विभिन्न शीर्षकमा बजेटको व्यवस्था गरेको छ । विनियोजित बजेटमा पशुचौपायामा लाग्ने रोग नियन्त्रण गर्न, कृत्रिम गर्भाधारणलाई प्रोत्साहित गरी नश्ल सुधार गर्न ३ लाख, पशु स्वास्थ्य औषधालय र पशु एम्वुलेन्स सञ्चालनका लागि २५ लाख, बधशाला, चिस्यान केन्द्र स्थापना सहकार्य गर्नका लागि २५ लाख विनियोजन गरिएको छ ।

घाँस खेती विस्तार, किम्वु तथा रेशम खेतीका लागि ५ लाख,चौपाया, पशुपंक्षीको संख्या अद्यावधिक तथा ट्यागिङका लागि ५ लाख, कृषि तथा पशु वजार विकास,कृषि तथा पशु मेला र प्रदर्शनी आयोजनाका लागि ५ लाख र छाडा चौपाया नियन्त्रण र व्यवस्थापनका लागि ५ लाख विनियोजन गरिएको छ ।