FAQs Complain Problems

भर्खरै

शिक्षा दिवसमा शिक्षक तथा विद्यार्थी पुरस्कृत

“शिक्षा दिवसमा शिक्षक तथा विद्यार्थी पुरस्कृत”
“शिक्षा दिवसमा शिक्षक तथा विद्यार्थी पुरस्कृत”

४० औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कृत र सम्मानित गरेको छ । शिक्षाको विकासका लागि महत्वपूर्ण योगदान दिएको भन्दै विभिन्न शिक्षक तथा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ । हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण भन्ने मुल नाराका साथमा मनाइएको दिवसमा उपमहानगरपालिकाले कार्यरत र सेवा निवृत्त शिक्षक २६ जना शिक्षकका साथै ३० जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने शिक्षकहरुमा विरेन्द्र महरा, विष्णु आचार्य, मनोज पोख्रेल, विष्णुकुमारी केसी, सुर्य वहादुर वस्नेत, चिन्तावहादुर गिरी, लिलाधर नेपाली, कमला खनाल लगायतका रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षकको भुमिका महत्वपूर्ण हुने कुरामा जोड दिए । शिक्षा सुधारका लागि विभिन्न सरोकारवाला निकायहरुले एक अर्कालाई दोष दिनुभन्दा पनि आफै सुधारका लागि लाग्न उनले सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले शिक्षा सुधारका लागि सबैले पहल गर्नुपर्ने बताए । उनले विद्यालयको गुरुयोजना वनाएर सोही अनुसार काम गरे शिक्षा सुधारका लागि पहल हुने कुरामा जोड दिए । “विद्यालयमा शिक्षक र प्रधानाध्यापकका विचमा कहिल्यै पनि कसरी सुधार्ने भन्ने छलफल हुँदैन भने कसरी विद्यालय सुधारिन्छ ?” उनले प्रतिप्रश्न गरे । विद्यालय सुधारको योजना बनाउनका लागि उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको बताउँदै उनले त्यसलाई कार्यान्वयन गर्नमा ध्यान दिनुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापकहरु शैक्षिक व्यवस्थापन भन्दा पनि भौतिक व्यवस्थापनमा वढि केन्द्रीत भएको भन्दै उनले अनावश्यक काज लिएर विद्यालय बाहिर जानुपर्ने प्रवृत्तिमाथि उपमहानगरपालिकाले निगरानी गरिरहेको समेत उनले बताए । “कुन शिक्षक विद्यालय आयो र कुन आएन भन्ने कुरा हामीले यही हेर्न मिल्ने बनाउँदैछौ ” उनले अरुलाई शिक्षा दिने शिक्षकहरुको निगरानी गरिरहनु राम्रो संकेत नभएको पनि वताए । विद्यालयको गुणस्तर वृद्धिका लागि शिक्षकको भुमिका नै महत्वपूर्ण हुने कुरामा उनले ध्यान दिए ।

शिक्षकले पढ्नुपर्दैन भन्ने मानसिकताका कारण विद्यार्थीले समायानुकुल शिक्षा पाउन नसकेको बताउँदै नगरप्रमुख पाण्डेले नियमित रुपमा पाठ योजना बनाएर शिक्षकले अध्यापन गराउनुपर्ने सुझाव समेत दिए । सबै विद्यार्थीहरुलाई कसरी उत्कृष्ट वनाउने भन्ने वारेमा सबैले सोच्नुपर्ने सुझाव दिदै नगरप्रमुख पाण्डेले शिक्षाको समग्र विकासका लागि नियमित छलफल हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमा बोल्दै शिक्षा समिति संयोजक देवराज विश्वकर्माले सामुदायिक विद्यालयमा लगानीको तुलनामा प्रतिफल आउन नसकेको बताउँदै जिम्मेवार भएर सबैले यसलाई सुधार्नका लागि प्रयत्न गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख भाष्करराज गौतम, भागवत पौडेल, नारायण भण्डारी, ढकबहादुर वली, पुरस्कृत शिक्षक विष्णु आचार्य र विष्णुकुमारी केसी लगायतले बोलेका थिए ।

शिक्षा शाखा अधिकृत चक्रवहादुर भण्डारीले तुलसीपुरको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण स्रोत व्यक्ति मुकुन्द रिजालले गरेका थिए ।