FAQs Complain Problems

भर्खरै

सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक

तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक खटिएका छन्। विषयगत शिक्षकका रुपमा आएका उनीहरु दुई वर्षसम्म तोकिएको विद्यालयमा रहेर शिक्षण गर्ने छन्। 

सामुदायिक विद्यालयका विद्यार्थीको सिकाई उपलब्धि विज्ञान, गणित र अंग्रेजी कम देखिएपछि गुणस्तरता बढाउन विषयगत शिक्षकलाई स्वयमसेवकको रुपमा खटाइएको हो। सामुदायिक विद्यालमा शैक्षिक गुणस्तर बढाउन ‘टिच फर नेपाल’को सहयोगमा विद्यालयमा स्वयमसेवक शिक्षक खटिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ। 

नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यालयमा स्वयमसेवक शिक्षक खटाउँदै आएको ‘टिच फर नेपाल’ले दाङमा पनि पहिलो पटक शिक्षक पठाएको छ। ग्रामीण समुदायमा रहेका विद्यालयमा शिक्षकको व्यवस्थापन गर्ने उद्देश्यका साथमा शिक्षक तुलसीपुरमा उपलब्ध गराएको टिचफर नेपालका कृष्ण केसीले बताए।

तुलसीपुर उपमहानगरपालिकाका ९ वटा विद्यालयमा १९ जना शिक्षक पठाइएको केसीले जानकारी दिए। केसीले दुई वर्षका लागि शिक्षकलाई विद्यालयमा पठाइएको र आवश्यकता अनुसार नयाँ शिक्षक पनि थप गर्न सकिने जानकारी दिए।  ‘चार हजार शैक्षिक युवाबीचच प्रतिस्पर्धा गराएर १९ जना छनोट गरेर दाङमा शिक्षकलाई पठाएका हौं’, केसीले भने, ‘परीक्षाबाट छानिएकालाई ४५ दिनको पूर्व शिक्षण तालिम समेत दिएर कार्य क्षेत्रमा खटाइएको छ।’ 

उनका अनुसार विद्यालयमा आएका शिक्षक आवासीय रुपमा रहने र त्यसको व्यवस्था विद्यालयले गर्नुपर्ने बताए। ‘शिक्षकले समुदायमै बसेर पढाउनुपर्ने हुन्छ, यसले गर्दा समुदायका समस्या पनि थाहा हुन्छ’, केसीले भने, ‘विद्यालय सेवा क्षेत्रमा शिक्षक आबासीय भएमा गुणस्तरमा समेत प्रभाव पार्छ।’ 

शुक्रबार संस्थाले नगरलाई शिक्षक हस्तान्तरण गरेको छ। तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यले शिक्षाको गुणस्तरीयता बृद्धिका लागि टिच फर नेपालले गरेको सहयोग अतुलनीय रहेको बताइन। 

प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले टिच फर नेपालका शिक्षकको अभिभावकत्व उपमहानगरले लिने बताए। उनले तुलसीपुरमा अध्यापन गर्नका लागि आएका शिक्षकलाई विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि काम गर्न आग्रह समेत गरेका छन्। स्वयम्सेवक शिक्षकले आइतबार देखिनै विद्यलयमा पढाउन सुरु गर्ने छन्।