तुलसीपुर उपमहानगरपालिकाको संक्षिप्त परिचय
तुलसीपुर उपमहानगरपालिका नेपालको लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको मध्य भागमा अवस्थित महत्वपूर्ण स्थानीय तह हो। प्राकृतिक, भौगोलिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक विविधताले सम्पन्न तुलसीपुर दाङ जिल्लाको प्रमुख शहरी तथा व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ। यसको करिब ७० प्रतिशत भू–भाग दाङ उपत्यकाको समथर क्षेत्रमा र बाँकी भू–भाग पहाडी क्षेत्रमा पर्दछ।
तुलसीपुर उपमहानगरपालिकाको स्थापना नेपाल सरकारको स्थानीय तह पुनर्संरचनासँगै वि.सं. २०७३ सालमा भएको हो। साविक तुलसीपुर नगरपालिका तथा हलवार, टरिगाउँ, उरहरी, पवननगर, मानपुर, बिजौरी, डुरुवा र फुलबारी गाविसहरू समेटी हालको उपमहानगरपालिका कायम गरिएको हो। यस उपमहानगरपालिकामा जम्मा १९ वटा वडा रहेका छन्।
उपमहानगरपालिकाको कुल क्षेत्रफल करिब ३८४.६३ वर्ग किलोमिटर रहेको छ। यसको पूर्वमा घोराही उपमहानगरपालिका, पश्चिममा शान्तिनगर र दंगीशरण गाउँपालिका, उत्तरमा सल्यान तथा रोल्पा जिल्लाका स्थानीय तहहरू र दक्षिणमा लमही नगरपालिका रहेका छन्। भौगोलिक रूपमा महाभारत पहाडदेखि चुरे क्षेत्रसम्म फैलिएको तुलसीपुरमा समथर कृषि भूमि, वनजंगल, नदी–खोला तथा पहाडी भू–भाग पाइन्छ।
तुलसीपुर सामाजिक तथा सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो। यहाँ विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा तथा जीवनशैली भएका समुदायहरूको बसोबास रहेको छ। कृषि, व्यापार, सेवा, शिक्षा, स्वास्थ्य, पर्यटन तथा अन्य आर्थिक गतिविधि यस क्षेत्रको विकासका प्रमुख आधार हुन्। तुलसीपुर क्षेत्रमा टरिगाउँ विमानस्थल, बेलझुण्डी रंगशाला, चमेरी गुफा लगायतका महत्वपूर्ण पूर्वाधार तथा पर्यटकीय स्थलहरू रहेका छन्।
स्थानीय सरकारको रूपमा तुलसीपुर उपमहानगरपालिकाले नागरिकलाई स्थानीय स्तरमै प्रभावकारी सार्वजनिक सेवा उपलब्ध गराउने, स्थानीय पूर्वाधार निर्माण तथा विकास गर्ने, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरण संरक्षण, सामाजिक समावेशीकरण र सुशासन प्रवर्द्धन गर्ने कार्य गर्दै आएको छ। सूचना प्रविधिको प्रयोग, डिजिटल सेवा प्रवाह, पारदर्शिता तथा नागरिकमैत्री प्रशासनलाई प्राथमिकता दिँदै उपमहानगरपालिका आधुनिक, व्यवस्थित र समृद्ध शहर निर्माणको दिशामा अघि बढिरहेको छ।
“हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर” भन्ने मूल भावनाका साथ तुलसीपुर उपमहानगरपालिका समावेशी, दिगो, प्रविधिमैत्री तथा नागरिककेन्द्रित स्थानीय शासनको अभ्यास गर्दै समृद्ध तुलसीपुर निर्माणतर्फ अग्रसर रहेको छ।