FAQs Complain Problems

भर्खरै

तुलसीपुरमा डेरी उद्योग सञ्चालनमा

तुलसीपुरमा डेरी उद्योग सञ्चालनमा

तुलसीपुरमा डेरी उद्योग सञ्चालनमा आएको छ ।

यस अघि तुलसीपुरमा डेरी उद्योग नहुँदा यहाँ उत्पादन भएको दुग्धजन्य पदार्थलाई उचित भण्डारण गर्न सकिएको थिएन् । अहिले भने डेरी उद्योग सञ्चालन भएपछि त्यो समस्या हटेर गएको छ ।

प्रदेश नं. ५ सरकार र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा तुलसी डेरी उद्योग सञ्चालनमा आएको हो । तुलसीपुर ७ स्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले उक्त डेरी उद्योग सञ्चालनमा ल्याएको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीका अनुसार प्रदेश सरकारको २० लाख र तुलसीपुर उपमहानगरपालिकाको ४५ लाख ऋण अनुदान र बाँकी संस्थाको लगानी गरि करिब तीन करोडको लागतमा उक्त डेरी उद्योग सञ्चालनमा आएको हो । ३ बर्ष भित्र भुक्तानी गर्ने गरि ६ प्रतिशत ब्याजदरमा उपमहानगरपालिकाले ऋण अनुदान दिएको हो ।

दुई बर्ष अघिदेखि उक्त डेरी उद्योग सञ्चालन गर्ने गरि प्रक्रिया अघि बढाएको भएपनि चालु आर्थिक बर्षको साउन १ गतेदेखि दुग्धजन्य पदार्थ संकलनको काम शुरु भएको अध्यक्ष भण्डारीको भनाई छ ।

दुग्धजन्य पदार्थबाट उत्पादन भएका परिकार तथा उत्पादित बस्तुहरु असोज १ गतेदेखि मात्रै बितरण गरिने उनले बताए । भण्डारीका अनुसार उद्योगबाट प्रतिघण्टा एक हजार लिटर दुध प्रसोधन गर्न सकिन्छ ।

यसैबीच शुक्रबार तुलसीपुर उपमहानगरपाकिका प्रमुख घनश्याम पाण्डेले अध्यक्ष भण्डारीलाई ४५ लाखको चेक हस्तान्तरण गरेका हुन् । तुलसीपुरमा दुग्धजन्य पदार्थ भण्डारणका लागि डेरी उद्योग सञ्चालन हुनु राम्रो कुरा भएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । यसले यहाँ उत्पादन भएको दुध बजारीकरण गर्नलाई कुनै समस्या नहुँने समेत उनको भनाई छ ।