FAQs Complain Problems

भर्खरै

प्रभावकारी वन्दै घरदैलोमा व्यवसाय दर्ता

तुलसीपुर, फागुन २६ । तुलसीपुर वजारको ख लाइनमा फ्लेक्स प्रिन्ट व्यवसाय सञ्चालन गर्ने सुधा ढकाललाई व्यवसाय सञ्चालनका लागि उपमहानगरपालिकामा दर्ता गर्नुपर्छ भन्ने हेक्का थिएन । घरेलु र कर कार्यालयमा पसल दर्ता गरेकी ढकालको पसलमा उपमहानगरपालिकाको टोली व्यवसाय दर्ताका लागि पुगेपछि उनी निकै खुसी भइन् । उनले तत्काल पसलमै व्यवसाय दर्ता गर्ने टोली देखेर व्यवसाय दर्ता गरिन् ।

तुलसीपुर वजारमै श्रृँगारको पसल गर्ने कमला भण्डारीले दुई वर्ष अगाडी व्यवसाय दर्ता गरेर पसल सुरु गरेकी थिइन् । व्यस्तताका कारण उनी नविकरणका लागि उपमहानगरपालिका जान पाएकी थिइनन् तर उपमहानगरपालिकाको टोली पसलमै आएपछि उनले खुसी हुँदै नविकरण गरिन् । “व्यवसाय गरेपछि दर्ता त गर्नै पर्यो नि ” उनले खुसी व्यक्त गरिन् ।

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक ऐन २०७५ वमोजिम व्यवसाय दर्ता प्रक्रिया अगाडि वढाएको वित्तिय अधिकृत ललित घर्तिले वताए । “व्यवसाय सञ्चालन गर्दा कानुन वमोजिम अनिवार्य रुपमादर्ता गरेको हुनै पर्दछ, र यसको जिम्मा स्थानीय सरकारको हो ” अधिकृत घर्तिले वताए । उनले तत्काल वजार क्षेत्रमा अभियान सञ्चालन गरेको भएपनि यसलाई १९ वटै वडामा विस्तार गरिने पनि वताए ।

जनताको घरदैलोमा नै सेवा दिने अभिप्रायले उपमहानगरपालिको अभियानको सुरुवात गरेको वताउँदै अधिकृत घर्तिले करिव ३ सय व्यवसायीहरुलाई व्यवसाय दर्ताका लागि आधिकारीक चिठी दिएको जानकारी दिए । “अहिलेसम्म २ सय जतिले दर्ता गरेका छन् अरु आउने क्रम जारी छ ” घर्तिले वताए । उनले व्यवसाय दर्ता नगरेकाहरुलाई उपमहानगरपालिकाका तर्फबाट कुनै पनि सिफारिस नगरिने पनि वताए ।

उपमहानगरपालिकाले घरदैलोमा नै पुगेर व्यवसाय दर्ता गर्दा व्यवसायीहरुलाई निकै फाइदा पुगेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले वताए । उनले संघका तर्फबाट उपमहानगरपालिकालाई सघाइरहेको समेत जानकारी दिए । “सबै व्यवसायीले अनिवार्य रुपमा व्यवसाय दर्ता गर्नुपर्दछ ,हामीले पनि सघाइरहेका छौ” अध्यक्ष रावतले वताए ।