भर्खरै
फोटो ग्यालरी
तुलसीपुर १० की हरिकला डाँगी अहिले ८७ वर्षकी भइन् । सोमवार उनी सरासर नगरप्रमुखको कार्यकक्षमा गएर प्रश्न गरिन् "म कहिले जाने तिर्थ घुम्न ?" उपमहानगरपालिकाले तिर्थ घुमाउने कार्यक्रम ल्याएको छ भनेर उनी उत्सुकताका साथ आएकी थिइन् । करिव आधा घण्टासम्म वस्दा उनले पाटीदेखि गाउँको विकासका अनेक कुराहरु गरिन् । साँच्चै यो उमेरमा पनि पाटी र नगरको कस्तो गहिरो चिन्ता ।
तुलसीपुर उपमहानगरपालिका पशु शाखाले विहिवारबाट किसानको घरदैलोमा पुगेर पशुमा लाग्ने खोरेत रोग विरुद्धको खोप दिन सुरु गरेको छ । शाखाले घरमै आएर खोप दिएकोमा तुलसीपुर ६ गौलौरामा लोकराज डाँगीले खुसी व्यक्त गरे । केन्द्र सरकारले ढिला गरेपछि उपमहानगरपालिका आफैले खरिद गरेर खोप वितरण गरेको नगरप्रमुख पाण्डेले वताए ।
तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक बसपार्क बैशाख अन्तिम साताबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । नगर विकास कोषको ऋण सहयोगमा करिव ९ करोडमा निर्माण गरिएको बसपार्कको सम्पूर्ण पूर्वाधार तयार भएर सञ्चालनमा आउन लागेको निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सनका विजय बोगटीले जानकारी दिए । उनले भवनको रङ लगाउने र मार्वल बिछ्याउने काम बाँकी रहेकाले तिव्रताका साथमा काम भइरहेको बताए ।
२०७४ वैशाखमा ठेक्का भएको बसपार्क निर्माणका लागि जग्गाको विवाद भएपछि निर्माण अवरुद्ध भएको थियो । जनप्रतिनिधिहरु आएपछि समस्या समाधानसँगै निर्माणको काम निकै तिव्र रुपमा अगाडि बढेको इन्जिनियर पवन योगीले जानकारी दिए । नगरप्रमुख घनश्याम पाण्डेले चुनावी एजेण्डाका रुपमा लिएको बसपार्क निर्माणमा आफु सफल भएको बताए । “तुलसीपुर बिस्तारै व्यवस्थित हुँदै जानेछ” नगरप्रमुख पाण्डेले बताए । निरिक्षणका क्रममा उनले ठेकेदारलाई निर्माणमा ढिलाइ नगर्न आग्रह समेत गरेका छन् ।
तुुलसीपुरलाई व्यवस्थित वनाउनका लागि निर्माण गरिएको बसपार्क साढे ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । वसपार्कमा करिव ३ सय गाडी अटाउने क्षमता रहेको पनि इन्जिनियर योगीले जानकारी दिए । आधुनिक यात्रु प्रतिक्षालयसँगै, भवन, शौचालय, पार्क र सडक निर्माण गरिएको उनले जानकारी दिए । बसपार्कभित्र ५२ वटा व्यवसायिक टहराका साथै टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका रहेन बताईको छ । बसपार्कमा स्तनपान कक्षका साथै सेन्सरयुक्त ढोका समेत राखिने बताइएको छ । आवश्यक क्षेत्रफल बढाउनका लािग उपमहानगरपालिकाले नमुना अटो भिलेज समेत निर्माण गरेको छ । निर्माणको लागि असारसम्म म्याद भएपनि वैशाख अन्तिम साता निर्माण सम्पन्न गरेर हन्तान्तरण गरिने निर्माण कम्पनीले बताएको छ ।
आधुनिक वसपार्क सञ्चालन हुने कुराले यातायात व्यवसायीहरुमा उत्साह पलाएको छ । “हाम्रा गाडी अव सुरक्षित हुने भए” राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले बताए । उनले गाडी जथाभावि राख्नुपर्ने बाध्यताको अन्त्य हुने समेत बताए ।
दाङ — देशका विभिन्न भागमा भइरहेका बालिका अपहरण, बलात्कार र हत्याका घटनाले किशोरीलाई त्रस्त बनाइरहेको छ । अधिकांश छोरीले सामाजिक विभेद, हिंसा, दुव्र्यवहार र शोषणका कारण पनि आफूलाई कमजोर ठानिरहेका छन् तर तुलसीपुरका छोरीहरू भने अब आफूलाई कमजोर महसुस गर्नेछैनन् ।
उनीहरू छातीमा ‘स्मार्ट छोरी’ को लोगो लगाएर निर्धक्क हिँड्नेछन् । विद्यालय आउँदा–जाँदा उनीहरूको पहिचान नै बेग्लै हुनेछ । सबैले भन्नेछन्, ‘हाम्री स्मार्ट छोरी ।’
स्मार्ट सहरको योजना बनाइरहेको तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी अभियान थालेको हो । छोरीहरूमा समाजमा भइरहेको विभेद, हिंसा, दुव्र्यवहार र शोषणविरुद्ध सामना गर्न सक्ने आत्मविश्वास बढाउँदै स्मार्ट बनाउने योजना बनाइएको स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । ‘छोरीहरूले जान्नैपर्ने आधारभूत ज्ञान दिएर उनीहरूको आत्मबल बढाउँदै छौं । उनीहरूले जीवनमा आवश्यक पर्ने उपयोगी सीप पनि सिक्दै छन्,’ उनले भने, ‘एउटा असल, विवेकी र आँटिली छोरी बन्न प्रेरित गर्दै छौं ।’ तुलसीपुर–४, रक्षाचौरस्थित गुरुजजुर माविबाट सोमबारदेखि यसको सुरुवात गरिएको छ ।
उपमहानगरका ५ सय छोरीलाई स्मार्ट बनाउने उद्देश्यले अभियान थालिएको दाहालले जानकारी दिए । उपमहानगरका विभिन्न क्षेत्र समेटिने गरी ५ विद्यालयका छात्रालाई यसमा सामेल गरिने उनले बताए । स्मार्ट छोरीका लागि २ दिनको तालिम दिइनेछ । उक्त तालिमपछि स्मार्ट छोरीको प्रमाणपत्र दिएर हौसला प्रदान गरिने दाहालले जानकारी दिए । तालिममा नेतृत्व, स्वास्थ्य सचेतना, बालअधिकार, महिला अधिकार, बालविवाह, हिंसा, शोषण, साइबर अपराध, दुव्र्यसन, यौन तथा प्रजनन अधिकार, जीवन उपयोगी सीप, तनाव व्यवस्थापनका साथै आत्मरक्षाका सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको उनले बताए ।
कक्षा ९ मा अध्ययनरत छात्राहरूबाट यसको सुरुवात गरिएको र बिस्तारै अन्य किशोरीलाई पनि यसमा सामेल गर्दै जाने स्वास्थ्य शाखाका विमल केसीले बताए । सहर स्मार्ट हुनलाई छोरी पनि स्मार्ट हुनुपर्ने उद्देश्यअनुसार यस्तो अभियान थालिएको उनले बताए । छोरीहरू आत्मविश्वासी भएको घर स्मार्ट हुने भएकाले सबै अभिभावकले छोरीलाई उचित अवसर र हौसला दिन आवश्यक रहेको उपमहानगरपालिका उपप्रमुख माया आचार्यले बताइन् ।
‘सामाजिक संरचनै विभेदकारी भएकाले छोरीहरू हीनताबोध गर्छन् । आफूलाई कमजोर ठान्छन्,’ उनले भनिन्, ‘स्मार्ट छोरी अभियानले उनीहरूलाई मनोवैज्ञानिक रूपमा नै बलियो बनाउनेछ ।’ सधैं आफूलाई कमजोर ठान्ने छात्राले तालिमपछि आत्मबल बढेको बताए । ‘विद्यालय आउँदा–जाँदा पनि डर लाग्थ्यो । जंगलको बाटो हिँड्नुपर्छ,’ गुरुजजुर माविमा ९ कक्षामा अध्ययनरत सविना डाँगीले भनिन्, ‘अब सानातिना समस्याको सामना गर्न सकिन्छ भन्ने आत्मबल बढेको छ । हामी पनि केही गर्न सक्छौं भन्ने साहस थपिएको छ ।’
छोरीको जुनी पाएको भन्दै आफूलाई कमजोर ठान्ने बालिकाहरू पनि अब आफूलाई स्मार्ट भन्न सक्ने भएका छन् । घरपरिवार र समाजमा छोरीलाई दोस्रो दर्जाको व्यवहार गर्ने गरिएकामा दु:खी हुने बालिका अब केही उपलब्धिमूलक काम गर्न सक्ने आँट आएको बताउँछन् । ‘स्मार्ट भन्नेबित्तिकै म केही गर्न सक्षम छु भन्ने महसुुस हुन्छ,’ ९ कक्षाकी सुनीता केसीले भनिन्, ‘हामी पनि समाजमा उदाहरणीय बन्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ ।’
कमजोर मानसिकताका कारण बालिकामाथि आक्रमण हुने भएकाले आत्मबल वृद्धि गर्दा पनि धेरै सुरक्षाको महसुस हुन सक्ने आत्मरक्षा तालिमका प्रशिक्षक नीरज न्यौपानेले बताए । ‘मानसिक रूपमा जस्तोसुकै जोखिम पनि सामना गर्न सक्छु भन्ने सोच आउनु पनि जटिलताबाट मुक्ति पाउने उपाय हो,’ उनले भने, ‘जीवन उपयोगी सीप स्मार्ट बन्न सहयोगी हुन्छन् ।’
स्मार्ट छोरी अभियान निकै रचनात्मक अभियान भएको र यसले अन्य छोरीहरूलाई पनि हौसला प्रदान गरेको अर्की प्रशिक्षक विद्या विष्टले बताइन् । बिस्तारै उपमहानगरका सबै विद्यालयमा यो अभियानलाई विस्तार गर्दै लैजाने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूले बताए । छोरीहरूलाई सिर्जनशील बनाउन यो अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
तुलसीपुर,
२१-माघ / दाङको टरिगाउँ बिमानस्थलमा निर्माण हुन लागेको टर्मिनल भवनको सिलन्यास गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सोमबार टर्मिनल भवनको सिलन्यास गरिएको हो ।
नियमित हवाईसेवा सञ्चालन हुन थालेपछि यात्रुहरुको सहजताका लागि टर्मिनल भवन निर्माण गर्न थालिएको हो । ५८ लाख २७ हजार रुपैँया लगातमा शौचालयसहित यात्रुहरुका लागि हल, सुरक्षा जाँच, एयरलाईन्सकोलागि दुईवटा कोठा, यात्रुहरुको सबै सामान जाँच गरिसकेपछि बाहिर निस्कन नमिल्ने खालको भवन निर्माण हुने ईञ्जिनियर युवराज रिजालले बताए ।
उनका अनुसार २४ मिटर लम्वाई र १२ मिटर चौडाई रहेको उक्त टर्मिनल भवन निर्माणको जिम्मा न्यू आस्टिना निर्माण सेवाले लिएको छ । चालुआर्थिक बर्षको असारसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।
टरिगाउँ बिमानस्थलमा नियमित हवाईसेवा सञ्चालन भएपनि पुरानो टर्मिनल भवन जीर्ण हुँदा यात्रुहरुलाई असहज हुने भएकाले नयाँ भवन निर्माणको शुरुवात गरिएको टरिगाउँ तथा नेपालगंज ऐयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरले बताए । ‘पुरानो भवन जीर्ण रहेकाले यात्रुहरुलाई असहज हुने गरेको थियो’ उनले भने ‘ त्यसैले नयाँ टर्मिनल भवन निर्माणको कार्यलाई अगाडि बढाएका हौं ।’
यसैबीच भवन सिलन्यास पूर्ब भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आईतबार भएको प्रदेश नं. ५ को आधारपत्रमा तुलसीपुरको टरिगाउँ बिमानस्थल स्टरबृद्धि भनि समाबेश भएकाले अब बिमान सेवा नियमित बन्नेमा शंका गर्नुपर्ने अबस्था नरहेको बताए ।
बिमानस्थलमा धावनमार्ग बिस्तार गरि १५ सय मिटर बनाउनका लागि कुनै समस्या नरहेको र अस्थायी ईन्धन डिपो ल्याउने बिषयमा पनि प्रक्रिया अगाडि बढिरहेको उनको भनाई छ ।
‘ तुलसीपुरमा अहिले अस्थायी डिपो आईसक्ने थियो, तर नयाँ जिएम भएकाले उहाँले अध्ययन गरेपछि मात्रै अस्थायी डिपो पठाउछु, भनेपनि रोकिएको छ’ उनले भने ‘ तर अबको केही समयमा आउछ ।’
दुईवटा ट्याङ्क, रिफुलर मेसिन आउने उनको भनाई छ । साथै स्थायी ईन्धन डिपो निर्माणका लागि जग्गा खोज्ने कार्यपनि भईरहेको उनले बताए । ‘ स्थायी ईन्धन डिपो निर्माणका लागि हामीले एयरपोर्टबाटै नजिक पर्ने ठाउँमा जग्गा खोजीरहेका छौ’ उनले भने ‘ सम्भवतः महेन्द्र माबिको तीन बिघा जग्गा भाडामा लिएर त्यसमै डिपो निर्माण गर्छौ ।’ डिपो निर्माण भएमा नियमित हवाई सेवा सञ्चालन गर्न कुनै कठिनाई नहुँने र दैनिक दुईसय यात्रुलाई सोही बिमानस्थलबाट आवतजावत गराउन सकेमा दाङको पर्यटनको बिकास हुने पनि उनको भनाई थियो ।
अर्को प्रसंगमा दाङमा अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्ने सन्दर्भलाई जोड्दै उनले भने ‘ सरकारले अहिले ६-७ ठाउँमा अन्तर्राष्ट्रियस्तरका बिमानस्थल बनाउन शुरु गर्ने योजना बनाएको छ, एकै पटक यतिधेरै अन्र्राष्ट्रियस्तरका बिमानस्थल बनाउदा आर्थिक धान्न कठिन हुन्छ ।’ त्यसैले दाङमा अहिले जग्गा खोजेर राख्ने र केही समय पनि निर्माणको प्रक्रियालाई अघि बढाउँदा उचित हुने उनको भनाई थियो ।
ऐयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज दाङका पूर्बसंयोजक टिकाराम रेग्मीले २०११ सालदेखि सञ्चालनमा आएको उक्त बिमानस्थलमा पुराना प्रबिधि जडान गरिएको भएपनि अहिले ति सामाग्री प्रयोगमा नआएको भन्दै प्रयोगमा ल्याउन पनि अनुरोध गरे ।
कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतलगायतले मन्तब्य ब्यक्त गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता सूर्यबहादुर डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रेससंयोजक बसन्त आचार्यले गरेका थिए ।